१० माघ, बागमती । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार लागुऔषधको दुव्र्यसनीमा लागेर हेटौँडास्थित सुधार गृहमा रहेका ९० युवाहरुलाई लक्षित गरेर सुधारगृहभित्रै मौरिपालन, पेन्टिङ, कफी बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ । यस्तै मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुषालले बताए ।
यता सो कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दत्र्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि, खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५० लाख ८४ हजार ७०५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुखले बताए।
सो अवधिमा दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुषालले जानकारी दिए । उहाँका अनुसार चालु आवको छ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी रु एक लाख ३५ हजार जरिवानाबापत राजस्व सङ्कलन भएको छ ।