गण्डकी प्रदेश

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

१० माघ, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए । निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उनले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले सिथिल अर्थतन्त्र उकासिने धारणा राखे ।

सङ्घले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेकामा उनले खुसी व्यक्त गरे । गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अब यसको काम अगाडि बढेको जानकारी गराए ।

हालै कोरला नाका सुचारु भएको र त्यहाँ अध्यागमन कार्यालय सुरुआत भएको उल्लेख गर्दै उनले त्यसलाई पूर्णरुपले सञ्चालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटो भरपर्दो बनाएर सञ्चालन गर्न सकिए गण्डकी प्रदेशलाई व्यापार व्यवासायमा फाइदा पुग्ने बताए ।

कोरला नाकालाई व्यवस्थित रुपमा सञ्चालन गरिएमा त्यसले तिब्बतसँगको व्यापार यतैबाट हुने उनको भनाइ थियो । गण्डकी प्रदेशमा उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाइएको भन्दै उनले उत्पादन प्रक्रिया सुरु भएपछि मात्र अनुदान दिन थाल्ने जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । गण्डकी सरकारले उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको धारणा राखे ।