समाचार

वैदेशिक रोजगार देशको अस्थिरताको जगको रुपमा स्थापीत

प्रदिप खड्का/नेपालबाट दैनिक हजारौँ युवाहरू रोजगारको लागी बिदेसिने गरेका छन्। देशमा बढ्दो राजनीतिक अस्थिरता र पर्याप्त रोजगारीको अभावका कारण दैनिक युवा विदेश पलायन हुन बाध्य भएका हुन्। देशमा भएका कलकारखाना देखि ठुला औद्योगिक क्षेत्रहरू नै धराशायी बनिरहेको यस समयमा झनै बेरोजगारीको समस्या चुलिँदो छ।

सरकारले बेरोजगारी समस्या हल गर्न बस्र्यौने बजेट भाषणमा राम्रा विषयवस्तु ल्याए पनि कार्यान्वयनमा भने त्यस्तो देखिँदैन। सरकारमा रहेका दलले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्दैमा राज्यकोको रकम खर्च भइरहेको छ। सरकारको उक्त योजना जनता माझ पुग्ने कुरा त कल्पनाको विषय मात्रै बनेको छ।

नेपालमा अहिले पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नुको मूल कारण मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्या नै हो। कुनै पनि सरकारी संस्थान तथा निजामती सेवाको लागी सीमित सिटको विज्ञापनमा माग सङ्ख्या भन्दा कयौँ गुणा बढी आवेदन पर्ने गरेको छ। वैदेशिक रोजगारीको लागी विदेशी भाषा परीक्षा दिनेको सङ्ख्या नै लाखौँ पुगेको छ। सामान्य रोजगारीका लागि पनि भनसुनको ठुलो प्रभाव छ । भनसुनको लागी नेता,सांसद र मन्त्रीको घरमा धाउनेको सङ्ख्या पनि कम छैन।

हाम्रो जस्तो मुलुकमा उद्योगधन्दाको विकासको अभाव हुनु, आयातमुखी अर्थतन्त्र रहिरहनु, श्रमको सम्मान गर्ने परम्पराको अभाव बढ्दै जानु, सानोतिनो श्रम गर्न हिचकिचाहट हुनुले पनि बेरोजगारीको सङ्ख्या थपिँदै गएको छ। त्यसमा पनि अझ न्यून पारिश्रमिक हुनु , प्राविधिक शिक्षाको ज्ञान नहुनु, श्रम बजारको कमी हुनु र देशमा जनसङ्ख्याको वृद्धिले पनि बेरोजगारीको सङ्ख्या ह्वात्तै बढ्दै गएको हो।

उत्पादनको मुख्य श्रमशक्ति भनेको युवा शक्ति नै हो। आज युवाहरू नै बेरोजगार भएपछि उत्पादनमा कमी मात्रै होइन देशको आर्थिक वृद्धिमा झनै समस्या आउने गरेको छ। देशमा भएका ठुला औद्योगिक कारखानाहरू जीर्ण बन्दै जानु र बेरोजगारी समस्याबारे राज्य बेखबर जस्तै बन्नुले पनि केही समय भित्र देशका पुरै युवा शक्ति पलायन हुने खतरा पनि उस्तै रहेको छ। रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको यस परिवेशमा युवा शक्तिलाई देशमै बसेर रोजगार गर्ने अवसरबाट दिने कुरामा राज्य आफै उदासीनता देखाई रहेको छ। यस कारण पनि उत्पादनमूलक रोजगारी सिर्जना तथा मुलुकमा उपलब्ध युवा श्रम शक्तिको उपयोग गरी आर्थिक विकासलाई गति दिने कार्य राज्यकै कारण निकै चुनौतीपूर्ण बन्दै गएको छ।

बेरोजगारीले गर्दा समाजमा विभिन्न खाले आपराधिक घटना बढिरहेको छ। टोल बस्तीहरूमा चोरी, डकैती, अपहरण,फिरौती,हत्या,लागु औषध कारोबारीका विभिन्न सामाजिक अपराधहरू बढिरहेको छ। नेपालमा बेरोजगारीको तथ्याङ्क अद्यावधिक कार्यमा निरन्तर नभएता पनि हालसम्म करिब ४३ लाख ६५ हजारको हाराहारीमा युवा शक्ति वैदेशिक रोजगारीमा गएको बताइन्छ। यद्यपि वैदेशिक रोजगारीमा जाने दक्ष कामदार अन्त्यतै न्यून रहेका छन्। राज्यले अनुत्पादक श्रम शक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता सेवा जस्ता क्षेत्रमा लगाउने हो भने पनि केही मात्रामा रोजगारीको अवसर हुन सक्ने थियो तर यस विषयमा राज्य गम्भीर देखिँदैन। सोही कारण पनि देशभित्र रोजगारीको पर्याप्त अवसर नभएकाले वैदेशिक रोजगारीको आकर्षण बढ्दै गएको हो।

दिनदिनै नेताहरूले बेरोजगारको समस्या हल गर्न राज्य उद्धत रहेको भाषण गरेता पनि त्यस तर्फ कुनै ठोस पहल भएको देखिँदैन। हाम्रो देशमा रोजगारीको समस्याका कारण शैक्षिक योग्यता उच्च भएता पनि तल्लो तहको पदमा जागिरका लागि आवेदन दिनु नेपालको वर्तमान परिपेक्षमा सामान्य नै मान्नु पर्ने अवस्था उत्पन्न भएको छ। बेरोजगारीको समस्या चरम चुलीमा पुगेको कारण समाज अशान्त पारिवारिक कलह साथै हिंसाका घटनाक्रम बढ्दो छ। अब पनि यस्तै अवस्था रहिरहने हो भने नेपाली समाज कता तिर उन्मुख हुदैछ त्यो अनुमान मात्रै लगाउन सकिन्छ।

राहदानी बनाउन हजारौँ युवाहरू लाइनमा बसेको देख्दा,एयरपोर्टमा वैदेशिक रोजगारीका लागि विदेश जानेको लाइन हेर्दा पनि मुलुकको बेरोजगारी समस्या सहजै अनुमान लगाउन सकिन्छ। अन्ततः नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारीको सङ्ख्या घटाउने तर्फ अथक प्रयास गर्नै पर्छ। राहदानी बनाएर बिदेसिने परम्परालाई रोक्ने योजना तर्जुमा गर्नु पर्ने देखिन्छ। राज्यले चाहेमा यो सबै सम्भव छ।

नेपालमा व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षालाई अनिवार्य गर्ने हो भने पनि यसको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। तर विडम्बना राज्यले बुझेर पनि कानमा तेल हालेर बसेको आभास हुने गर्छ। बेरोजगारीकै कारण परिवार पाल्नको लागी भनेर बिदेसिनु पर्दा परिवार नै छिन्नभिन्न हुने अनेकौँ सामाजिक अपराध बढ्दै जाने गरेको जग जाहेर छ। राज्यले दीर्घकालीन योजना बनाएर यी तमाम समस्याको समाधान तर्फ लाग्ने हो भने समाधान सम्भव देखिन्छ।

नेपाल जस्तो सम्भावना भएको देशमा युवा शक्तिलाई आधुनिक कृषि प्रणाली मार्फत श्रममा लगाउने हो भने आत्मनिर्भर बन्न सकिने आधारहरू छ। ग्रामीण भेगमा हेर्ने हो भने जमिन बाझै रहेका छन्। गाउँमा बुढाबुढी, गृहिणी महिला र बालबालिका बाहेक सबै वैदेशिक रोजगारीको लागी विदेश पलायन छन्। १२ कक्षा नसक्दै विद्यार्थीहरू कुन देश जाने भनेर तयारीमा लागेका हुन्छन्। उर्वर भूमिलाई बाझोमा परिणत गरेर अर्काको देशमा गुलाम बन्न नेपाली युवा उत्साहित बनेको देखिन्छन्। एक वर्ष अगाडी ईपिएस मार्फत कोरिया जान पाउ भनेर आन्दोलन गर्दा दुई युवाले ज्यान गुमाउनु परेको थियो। बेरोजगारीकै कारण यो सबै घटना उत्पन्न भएको भन्ने कुरामा राज्य अनविज्ञ पनि छैन तर यस तर्फ सरकारले गम्भीरतापूर्वक ध्यान कहिले पुराउला ? गम्भीर प्रश्न उठेको छ।

सरोकारवाला निकाय नै कानमा तेल हालेर बस्दा देश यावत समस्याले जेलिएको छ। पछिल्लो समयमा प्रत्येक घरबाट २ जना बिदेसिएकै हुन्छन् चाहे त्यो रोजगारीको लागी होस् या त कलिलै उमेरमा अध्ययनको लागि किन नहोस्।अध्ययनको सिलसिलामा बिदेसिएकाहरू स्वदेशमै फर्किएलान् भन्ने सम्भावना अत्यन्तै न्यून छ। उनीहरूले सिकेको प्राविधिक सिप नेपालमा आएर सदुपयोग गर्लान् भन्ने आस छदै छैन । यसरी उच्च शिक्षा हासिल गर्ने भन्दै सम्भावना बोकेका लाखौँ युवा शक्ति दोस्रो मुलुक पलायन हुनु देशकै लागी ठुलो घाटा हो तर यस तर्फ राज्य र सम्बन्धित सरोकारवाला निकाय मौन देखिन्छन् ।

मुलुकमा बेरोजगारी समस्या र वैदेशिक रोजगारले सामाजिक, आर्थिक अवस्थालाई नकारात्मक प्रभाव बनाइरहेको छ। वैदेशिक रोजगारले रेमिटेन्स भित्रिएर केही सकारात्मक सहयोग भएता पनि समग्रमा समाज प्रताडित बनेको छ, देशमा स्थायीत्व हुने बाटो बन्द जस्तै बनाएको छ । राज्यले आफ्नै पहलमा स्वदेशमै रोजगारी सिर्जना गर्ने हो भने युवा शक्ति पलायन हुनबाट रोकिने साथै पारिवारिक बिछोडमा तहस–नहस बनेको सम्बन्धमा पनि सकारात्मकता थपिने कुरामा कुनै दुई मत छैन। जनताले पनि राज्य प्रति विश्वास बढाउने आधार समेत बन्ने थियो।