राजनीति

छिनछिनमा सरकार परिवर्तन भइरहने कारणले दुई दलको सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

११ माघ, लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन शिद्धबाबा सुरूङमार्गको मुख्य सुरूङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ आज सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको आज प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुख्य सुरूङको ‘ब्रेक थ्रु’ गरे ।

यस्तै, पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे सडकको स्तरोन्नति कार्यक्रमको समेत प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरे । कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधानर तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारले सुशासन र विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको बताए । उनले हरेक योजनामा जनसहभागिता र सर्वस्वीकार्य हुन जरूरी रहेको बताए ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको शिद्धबाबामा निर्माणाधीन शिद्धबाबा सुरूङमार्ग र पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे सडकको स्तरोन्नति कार्यक्रमलाई सम्बेधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्वबिना विकासले गति लिन नसक्ने भएकाले पनि प्रमुख दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताए । उनले भने, “छिनछिनमा सरकार परिवर्तन भइरहने कारणले जनतामा निराशा छाएकाले राष्ट्रिय राजनीतिक आवश्यकताले दुई दलको सरकार बनेको हो ।”

उनले ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिङ्गे सडक गुणस्तरीय तथा समयमै सम्पन्न गर्न आग्रह गर्दै यसका लागि सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेको बताए ।