१३ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टीको केन्द्रीय समिति बैठक प्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शाहीले खिसिट्युरी शैलीमा “कठै राप्रपा केन्द्रीय समितिको बैठक ……..! कामकाज एकातिर कुम्लो बोकि ठिमीतिर त भएन ? भन्दै आफ्नै पार्टीको बैठकलाई गिज्याएका हुन्।

राप्रपाको प्रमुख सचेतक समेत रहेका शाहीले “हामी एक अर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ जो आफैमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन।” भन्दै बैठकको गतिविधिबारे आलोचना गरेका हुन्।
सांसद शाहीले अहिलेको अवस्थामा पार्टी एक ढिक्का भएर जानु पर्नेमा जोड दिएका छन्। उनले समान बिचार भएका र स्वतन्त्र दलसँग एकताबद्ध भएर संविधान संशोधन गराउन दबाबमूलक कार्यक्रम गर्नु पर्ने धारणा समेत राखेका छन् । शाही जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा खुलेर बोल्नुका साथै उनले प्रदेश संरचनाको खारेज गर्नु पर्ने बुद्ध, किराँत र हिन्दु सहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना गर्नु पर्नेमा जोड दिएका छन्।
राष्ट्रपति र राजाको बारेमा जनमत सङ्ग्रह,भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार ,युवाहरूलाई रोजगारीको ग्यारेन्टी, कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न निषेध गरिनुपर्ने गरिनु पर्ने उनको धारणा रहेको छ।
शुक्रवारदेखि धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा जारी केन्द्रीय समिति बैठकमा शाही भने उपस्थित नै थिएनन्। पारिवारिक कारण आफू बैठकमा उपस्थित हुन नसकेकोमा उनले माफी समेत मागेका छन्।