१३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर गनगन नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् ।
आज काठमाडौंमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको बताएका हुन् ।
‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ, यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन’ उनले भने ।
महामन्त्री थापाले काम गर्न छोटै अवधि पनि पर्याप्त हुने बताउँदै कांग्रेस–एमाले गठबन्धन सरकारलाई अझै ३ वर्ष समय रहेको बताए । २०८४ को निर्वाचनसम्म पुग्न अझै ३ वर्ष समय बाँकी रहेको बताउँदै उनले अहिले नै निर्वाचनको चर्चा गर्नु उपयुक्त नहुने बताए । तीन वर्षको अवधि काम गर्नका लागि पर्याप्त हुने बताउँदै महामन्त्री थापाले उक्त अवधिमा पनि काम गर्न पाइएन वा सकिएन भनेर गनगन नगर्न नेताहरुलाई चेतावनी दिएका हुन् ।