१३ माघ, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताएका छन् ।
राष्ट्रिय सूचना आयोग काठमाडौँद्वारा आज विराटनगरमा आयोजित ‘प्रदेशस्तरीय सूचनाको हक’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्नुका साथै राष्ट्रले तय गरेका रणनीतिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले संविधानद्वारा प्रत्याभूत सूचनाको हकको पहुँच आमजनतासम्म प्रभावकारी ढङ्गले पुर्याउन आयोगको भूमिका महत्वपूर्ण रहेको विचार राखे । उनले सूचनाको हक स्थापित गराउन तीन तहका सरकारले आपसी समन्वयका आधारमा व्यवस्थित रूपमा कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण कार्य भनेको सरकारले गरेका कामहरूको सूचना नागरिकले सहज र सरल रूपमा प्राप्त गर्नु हो । सूचनाको हक प्रभावकारी कार्यान्वयन भएमा पारदर्शी, लोकतान्त्रिक, सुशासनयुक्त समाज निर्माण हुँदै जानेछ ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण कार्यालयमा सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिँदै प्राप्त सूचनाको गलत दुरुपयोग गरेमा कानुनी कारबाही गर्ने व्यवस्था रहेको उल्लेख गरे ।