१४ माघ, काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नयाँ प्रमुख फेरिएको केही दिन मात्रै भएको छ। क्याम्पसको प्रशासन प्रमुखको जिम्मेवारीमा तत्कालीन विभागीय प्रमुख पदम कुमार अधिकारीलाई क्याम्पस प्रमुख बनाइएको हो। नयाँ प्रमुख आएसँगै नयाँ कार्य योजना र सुधारका नयाँ खाका आउने सक्ने आम विद्यार्थीहरुको अपेक्षा हुने नै भयो। यस क्याम्पसले हालसम्म सयौँ क्याम्पस प्रमुख बदलिसकेको छ। प्रशासन सञ्चालनको लागि जति नै प्रमुख फेरिए पनि विद्याथीहरुको चाहना भनेको शैक्षिक स्तर गुणस्तर होस् भन्ने नै हुन्छ।

२०१८ सालमा स्थापना भएको यस आरआर क्याम्पसले लाखौँ विद्यार्थीहरु उत्पादन गरिसकेको छ। मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्याम्पस हो आर आर । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान, दिउसो र बेलुका गरी तीन सिफ्टमा पढाई हुने गर्छ । देशको विभिन्न निकायहरूमा आर आर क्याम्पसबाटै उत्पादित विद्याथीहरु पुगी सकेका छन्। ठुलो गरिमा र महत्त्वपूर्ण जिम्मेवारी बोकेको यस क्याम्पसले हालसालै नयाँ प्रमुख पाएको छ। सोही अवसरमा आर आर क्याम्पसका प्रमुख अधिकारीसँग नयाँ कार्य योजनाको बारेमा सुर्यखबर प्रतिनिधि प्रदीप खड्काले गरेकाे कुराकानीकाे सारसँक्षेप।
१- नयाँ प्रमुखको रूपमा भर्खरै जिम्मेवारीमा आउँदै गर्दा प्रशासनिक सुधारको लागि के कस्ता कार्य योजनाहरू लिएर आउनु भएको छ?
-कलेज प्रशासन सुधारको लागी हामी सँग थुप्रै योजनाहरू रहेका छन्। हामी यस कलेजलाई सु-सम्पन्न आधुनिक र संसारमा भएका जति पनि विश्व विद्यालय छन् त्यहाँ उपलब्ध हुने सबै सुविधाहरू पुराउने सपना लिएर आएका छौँ। तर यी सबै परिकल्पना मात्रै हुन् यसलाई पुरा गर्नको लागी हामीसँग साधन श्रोत विद्यमान अवस्थामा कम छन्। हामीलाई त्रिभुवन विश्व विद्यालयले सीमित मात्रामा मात्रै साधन स्रोत उपलब्ध गराउने गरेको छ। हामीसँग आधुनिक पुस्तकालय बनाउने, भएकोलाई सुधार गर्ने, क्याम्पसको नयाँ भवन बनाउने पनि सपना चैँ छ तर पुरा हुन सकेको छैन। नयाँ आउने सबै प्रमुखहरूको चाहना त हुन्छ तर स्वीकृत हुने सम्भावना हुँदैन।
२- क्याम्पसको भौतिक संरचना निर्माण नै पहिलो प्राथमिकतामा हो ?
-भवन निर्माण नै हाम्रो पहिलो प्राथमिकता हो। आर आर कलेजको प्रमुख देखी प्राध्यापक,विद्यार्थी सबैको पहिलो चाहना भनेकै कलेजको भवन निर्माण हुनु हो सबैको चाहाना पनि यही देखिन्छ। हाम्रा सबै भवनहरू पुराना छन् भूकम्पमा सबै चर्किएका थिए ,केही भत्किएका छन् तर हामीले यसलाई सुधार गर्न सकेका छैनौ। भवन निर्माण सम्बन्धी कार्य योजना स्वीकृत भएर आएमा हामी विद्यार्थीहरूलाई अन्तै व्यवस्थापन गरेर भए पनि भवन निर्माणमा लाग्ने थियौ।
३– पछिल्लो समयमा सरकारी क्याम्पसमा विद्यार्थी भर्ना संख्या घटेको हो, आरआरमा कस्तो छ अवस्था ? ?
-विद्यार्थी भर्ना चैँ थपघट त भई नै रहन्छ। तर यस वर्ष बिए प्रथम वर्षमा झन्डै नौ सय / हजारको हाराहारीमा भर्ना भएका छन् यो भनेको विगतका बर्सहरूको तुलनामा घटेको हो भने एमएमा विगतको भन्दा केही मात्रामा विद्यार्थीहरू बढेको देखिन्छ। मानविकी र समाज शास्त्र सङ्काय अन्तरगत धेरै विद्यार्थी रहेका छन्। यस क्याम्पसमा पठन पाठन असाध्यै राम्रो हुने भएकाले विद्यार्थीहरूको सङ्ख्या बढ्दो क्रम नै छ।
४– अध्ययनको लागि दशाैँ हजार विद्यार्थीहरू बिदेशिएका छन् यो प्रक्रियाले कलेजलाई कस्तो असर गरेको छ ?
– हाम्रो कलेजबाट पिएचडी गर्नको लागी विदेश पढ्न जाने केही विद्यार्थीहरू छन् । उनीहरूलाई हामीले दिनुपर्ने कागजात दिएका छौँ तर यस बाहेक अरू कमैले मात्रै अनुमति लिएको मैले पाएको छु। म आफै विभागीय प्रमुख भएर काम गरिसकेको हिसाबले त्यो मलाई राम्रो सँग थाहा छ। बिए पास भइसके पछि ९० प्रतिशत विद्यार्थीहरू एमएको लागि भर्ना हुन्छन् त्यस कारण पनि अन्य क्याम्पसहरूको तुलनामा आर आर क्याम्पसबाट बाहिर पढ्न जानेहरूको सङ्ख्या न्यून रहेको छ। तर अमेरिका र कोरिया जाने पनि केही मात्रामा चैँ रहेका छन्, हुँदै नभएका चैँ होइन।
५- नेपालको शैक्षिक प्रणालीमा गुणस्तर नै छैन भन्ने आलोचना भइरहेको छ,क्याम्पस प्रमुखको हैसियतले गुणस्तर विकाशको लागी के कस्ता पहल हुन सक्छन् यस विषयमा चैँ के भन्नुहुन्छ ?
– शैक्षिक गुणस्तरको कुरा गर्ने हो भने नेपालको शैक्षिक गुणस्तर मध्यम स्तरको छ। समय सापेक्षे विश्वको तुलनामा विकसित देशहरूमा भौतिक सुविधाहरू जसरी उपलब्ध छन् इन्टरनेट, सर्भर जस्ता कुराहरू छन् ती सुविधा हाम्रो जस्तो मुलुकमा छैनन् तर पनि लाइब्रेरीको माध्यमबाट केही अभावहरू भने हामीले पुरा गर्दै आएका छौँ।
६- नेपालको शैक्षिक गुणस्तर खस्कनुमा स्कुल कलेजमा राजनीतिक दलका गतिविधि भई रहनुलाई प्रमुख कारणको रूपमा मान्न सकिँदैन र ?
– स्कुल कलेज राजनीति गर्ने संस्था होइन, मलाई के लाग्छ भने बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूले स्कुल कलेजमा भातृ सङ्गठन मार्फत राजनीति गर्ने होइन। तपाइले उठाउनु भएको प्रश्नमा म सहमत छु। क्याम्पस भनेको रिसर्च गर्ने संस्था हो यहाँ राजनीति होइन रिसर्चको काम हुनुपर्छ। भातृ सङ्गठन दलहरू आफैले चलाउनु पर्छ विश्व विद्यालयलाई कोच्नु हुँदैन भने पक्षमा म छु। एकेडेमिक काम र पोल्टिक्स यहाँ मिल्दैन तपाइले भनेको कुरा सही हो । राजनीतिक दलहरूले आफ्ना विद्यार्थीलाई प्रोत्साहन गरेर भातृ सङ्गठन दर्ता गर्ने गरेका छन्, जसले नकारात्मक असर गरेको छ, क्याम्पसमा राजनीतिकरण भएकाे छ। तर यसमा विश्व विद्यालय नै भागबन्डामा चलेको छ, विश्व विद्यालय प्राज्ञिक संस्था हो त्यहाँ विशुद्ध प्राज्ञिक तरिकाले सञ्चालन हुनु पर्ने हो तर भागबन्डा छ हामीले सुनेका छौँ, देखेका छाैँ । विश्व विद्यालय नै राजनीतिमा छ भने क्याम्पसमा राजनीति हुनु स्वाभाविक पनि हाे । सबैका राजनैतिक आस्था होलान् मेरो पनि होला तर म आर आर क्याम्पसको प्रमुख हुनुको नाताले मेरो काम यहाँले भने जस्तै शैक्षिक गुणस्तरको विकाश प्रशासनिक क्षेत्रको सुधारमा हुनु पर्छ तर राजनीतिक आस्था पोख्ने थलो चैँ क्याम्पस होइन।
७- तपाई प्रमुख रहनु भएको आर आर क्याम्पसमा राजनीतिक दलका भातृ सङ्गठनको गतिविधिका कारण नराम्रो असर परेको छ भनेर आफैले स्वीकार गरिसक्नु भयो तर यस्ता गतिविधि रोक्न तपाईँले केही पहल गर्न सक्नु हुन्न ?
-पहल सबै शैक्षिक संस्थाहरूले गर्नु पर्ने हो। उपकुलपती (भाइस चान्सलर)को नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति हुन्छ, मलाई लाग्छ पहल त्यहीबाट हुनु पर्ने हो हामीले त, तलबाट सल्लाह सुझाव मात्रै दिने हो। मुख्य भूमिका भनेको भाइस चान्सलरकै हुने गर्छ। हामीले तलबाट दिएको सुझावलाई पोसिलीमा गएर छलफल गर्नु पर्यो। गणतन्त्र आइसकेको यो व्यवस्थामा आफ्ना कुरा राख्न सक्ने ठाउँ छन् त्यहाँ बहस गर्न सक्नु पर्ने हो तर त्यो भइरहेको छैन। राजनीति राजनीतिमै हुनुपर्छ संस्था संस्थामै रहनु पर्छ मेरो यो मान्यता छ। भोली संस्थालाई समस्या पर्दा आफैँले सामना गर्नु पर्ने हुन्छ।
८ – क्याम्पस प्रमुखको हैसियतले देशभरको शैक्षिक गुणस्तरलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
– समग्रमा हाम्रो विश्व विद्यालयलाई हेर्ने हो भने इन्जिनियर र मेडिकल क्षेत्रमा असाध्यै राम्रो छ। एमबिबिएस पढ्नको लागि राम्रो छनोटमा पर्नु पर्ने छ। इन्जिनियर अध्ययनमा पनि त्यही अवस्था छ। एकदमै गुणस्तरीय विद्यार्थी छानेर लिएको हुन्छ। हामीले पनि छानेर मात्रै विद्यार्थी लिने गरेका छौँ। मानविकी र समाज शास्त्र तर्फ भने अलि खुकुलो जस्ताे देखिन्छ।
९– राजनीतिक दलका भातृ सङ्गठनको गतिविधिका कारण बेलाबेला क्याम्पस प्रशासनमा ताला लाग्ने माग पुरा नभए तोडफोड समेत हुने गरेका छन् यसबारे के धारणा छ ?
– हो बेला बेला यस्ता गतिविधि हुने गरेका छन्। जे समस्या उठेको छ त्यस्ता विषयलाई समयमै समाधान नगर्दा घटनाहरू भएका छन्। जुन विषयमा कुरा उठेको हो त्यो समस्याको हलका बारेमा छलफल गर्दा आफ्ना कुरामा मात्रै अडान रहिरहँदा यो समस्या आउने गरेका छन्। राजनीतिक कारण देखि भर्ना प्रक्रिया र कतिपय बेला व्यक्ति मन नपरेको भनेर पनि तालाबन्दी हुने गरेका छन्। मेरो पालामा म यस बारे सचेत छु, त्यस्तो हुन दिने छैन। समस्या आएमा शिक्षक र विद्यार्थी बसेर नै समाधान खोज्ने हो अन्य विकल्प छैन।
१० – आर आर क्याम्पसको एउटा आन्तरिक विषय बाहिर आएको छ, केही विद्यार्थीहरूले अनुहार हेरेर कम नम्बर दिएर फेल गराएको भन्ने आरोप छ यस बारे स्पष्ट बनाइदिनुस् न ?
– म सँग पनि केही विद्यार्थीहरू आएका थिए छलफल पनि गरेको हो। एक दिन पनि कलेज नआउने अनि परीक्षामा चैँ प्राक्टिकल विषयको ३० पुणाङ्कमा २७ /२८ नम्बर दिनु पर्ने भन्दै शिक्षकलाई थर्काउन आउने विद्यार्थीहरूको कुरा हो त्यो। म विभागीय प्रमुख हुँदा नेपाल सरकारका उच्च पदमा रहेका व्यक्तिहरू र कर्मचारीहरू नै आर आर क्याम्पसमा एक दिन पढ्न नगई एमए पास गरे भनेको सुन्दा मलाइ कस्तो भयो होला ? अनुमान गर्नुस् न । आर आरमा पढेको तर मैले नै नदेखेको विद्यार्थी कलेज नै नगएर एमए पास गरे भन्छ भने के सोच्ने ? जो नेतृत्वमा बसेको छ उसकै अनुशासन भएन भने?
आर आर क्याम्पसमा विद्यार्थीको उपलब्धिको आधारमा नम्बर दिइन्छ यो प्रणालीको विकाश गरिएको हो। आन्तरिक परीक्षामा सहभागी नहुने अनि राम्रो अङ्क खोज्दा यो समस्या आएको हो।