अन्तर्राष्ट्रिय

प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

१४ माघ, टोकियो । जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिएका छन् ।

फुजी टिभीले आफ्ना प्रमुख कोइची मिनातो र अध्यक्ष शुजी कानोहले राजीनामा दिने घोषणा गरेको पुष्टि गरेको छ ।

एक पत्रिकाले गत महिना जे–पप मेगास्टारबाट टिभी प्रस्तोता बनेका मासाहिरो नकाईले सन् २०२३ मा एक महिलाको सहमतिबिना यौन क्रियाकलाप गरेको समाचार सार्वजनिक गरेका थिए।

ती महिलालाई ५२ वर्षीय नकाईले एकमुष्ट नौ करोड येन पाँच लाख ७० हजार अमेरिकी डलर भुक्तानी गरेपछि नकाई र ती महिलाले उक्त यौन दुव्र्यवहारलाई सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर गरेको थिए।

घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।

“मानव अधिकारको चेतनाको कमीका कारण पर्याप्त हेरचाह गर्न नसकेकोमा म सम्बन्धित महिलासँग माफी माग्न चाहन्छु,” कानोहले पत्रकारहरूसँग भने।

“समाचारको शृङ्खलाले निम्त्याएको व्यापक चिन्ता र असुविधाको लागि म दर्शक, विज्ञापनदाता, कम्पनीका सदस्य, शेयरधनीसँग माफी माग्छु,” उनले थपे ।

यसै महिनाको सुरुमा मिनातोले स्थानीय सञ्चारमाध्यममा समाचार आउनुअघि नै यस काण्डबारे फुजी टिभीलाई जानकारी भएको स्वीकारेका थिए।

कम्पनीले ती महिलासँग नाकाईको भेटको प्रबन्ध मिलाउन आफ्ना कर्मचारीको संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।

सन् १९९० देखि २००० सम्मको दशकमा एसियाभरि नै चर्चा कमाएको ब्वाइज ब्यान्ड एसएमएपीका पूर्व सदस्य नकाईले फुजी टिभी र अन्य च्यानलका कार्यक्रमबाट हटाइएपछि शुक्रबार सन्यासको घोषणा गरेका थिए ।

“‘सबै कुराका लागि म मात्र जिम्मेवार छु’ र ‘म माफी माग्छु’,” नकाईले शुक्रबार भन्नुभएको थियो ।

यसअघि उनले एक विज्ञप्ति जारी गर्दै केही घटना ‘तथ्यभन्दा फरक’ भएको बताएका थिए।