राजनीति

नेविसंघका नेता योगेन्द्र रावल आक्रोशित हुँदै भन्छन्ः नेविसंघका अध्यक्षलाई अपदस्त गर्नु पर्छ

१५ माघ, काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका युवा नेता योगेन्द्र रावलले त्रिभुवन विश्व विद्यालयको नाम परिवर्तन गरी लेनिन–स्टालिन विश्वविद्यालय राख्न प्रस्ताव गरेका छन्। उनले विश्व विद्यालय राजनीतिक दलहरूको अखडा भएको आरोप लगाउँदै उक्त प्रस्ताव गरेका हुन्। 

आज सूर्य खबर टेलिभिजनसँग कुरा गर्दै उनले सबै नियुक्ति राजनीतिक गन्ध रहित हुनु पर्नेमा त्यसो नभएर एमाले र माओवादीको प्रतिनिधि नियुक्त गरिएको गम्भीर आरोप लगाएका हुन्। त्रिभुवन विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्दा खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्छ भन्दै आफ्नै नेतृत्वमा चरणबद्ध आन्दोलन गरेर सहमति गरेता पनि कार्यान्वयन नभएकोमा नेता रावलले आपत्ति जनाए ।  

 रावलले त्रिभुवन विश्व विद्यालयले आफ्ना मागहरूमा सहमति जनाए पनि सहमति लागु नगरेर त्रिभुवन विश्व विद्यालय एमाले र माओवादीको भर्ती केन्द्र बनाएको गुनासो गरे । उनले भिसी माओवादीको कोटाबाट नियुक्त गरेको र रेक्टर एमालेको कोटाबाट नियुक्त गरेको भन्दै त्रिभुवन विश्व विद्यालयको रजिस्टार कथित डेमोक्रेटिक भनिए पनि सबै राजनीतिक दलहरूको रबर स्ट्याम्प रहेको उनले बताए । राजनीतिक ढङ्गबाट नियुक्ति भएका रजिस्टार डेमोक्रेटिक नभएको उनको दाबी रहेको छ । रजिस्टारले आफ्नै कार्यकक्षमा सुरक्षा गार्ड लिएर बस्ने गरेको भन्दै उनले “यस्ता मान्छे कसरी  डेमोक्रेट हुन सक्छ भनेर प्रश्न गरेका छन्। उनले विद्यार्थीहरूको विचारलाई कुण्ठित गर्ने व्यक्ति त्रिभुवन विश्व विद्यालयको रजिस्टार हुनै नसक्ने समेत बताए। 

 त्रिभुवन विश्व विद्यालयमा पढाइ हुने पाठ्यक्रम नै स्खलित हुँदै गएको नेता रावलको भनाइ छ।  उनले अहिले पढाइ भइरहेको पाठ्यक्रम कम्युनिस्ट विचारधाराको रहेको बताए। “अहिले जुन पाठ्यक्रम पढाइ भइरहेको छ यसैलाई निरन्तरता दिइरहने हो भने त्रिभुवन विश्व विद्यालयबाट कम्युनिस्टहरू मात्रै उत्पादन हुनेछन्।“ उनले भने।

 त्रिभुवन विश्व विद्यालयमा यावत समस्या उजागर गरिरहँदा चैँ तपाई आबद्ध  विद्यार्थी सङ्गठनले किन केही पहल  नगरेको? भन्ने प्रश्नमा उनले आफ्नै नेतृत्वमा आन्दोलनै दबाबबाट धेरै सुधार गरेको दाबी गरे। उनले धेरै विद्यार्थीहरूलाई आफ्नै सङ्गठनको पहलमा छात्रवृत्ति प्रदान गरिएको समेत बताए ।    

नेपाल विद्यार्थी सङ्घको आन्तरिक विवाद बारे खुलेर बोलेका नेता रावलले नेविसंघका अध्यक्ष असक्षम रहेको बताए। उनले ६ महिना भित्र अधिवेशन गर्न बनाइएको अध्यक्षले हालसम्म कुनै बैठकसम्म राख्न नसक्नु असक्षमता भएकोले नेविसंघको असक्षम नेतृत्वलाई अपदस्त गर्नु पर्ने उनको भनाइ छ। नेविसंघको केन्द्रीय समिति नै साढे सात सय रहेकोमा उनको आपत्ति छ। उनले अहिले भएका सबै केन्द्रीय सदस्यहरू मानार्थ रहेको बताए।अध्यक्ष नै गुच्छा खेलेर बसको भन्दै उनले  नेविसंघमा अब काम गर्न सक्ने नयाँ नेतृत्व चयन गर्नु पर्ने जोड दिए। 

पार्टीको आन्तरिक कलहको बारेका खरो प्रतिक्रिया दिँदै गर्दा पार्टीले कारबाही गर्ला भन्ने डर छैन? भन्ने प्रश्नमा उनले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक विचार राख्न पाइने भन्दै उनले आफूलाई पार्टीले कारबाही गर्न नसक्ने बताए। 

एक फरक प्रसङ्गमा नेता रावलले रवि लामिछानेको पार्टी सहकारी ठग नै रहेको ठोकुवा गरे। नयाँ केही गर्छु भनेर आएका रवि नयाँ जोगी जस्तै रहेको उनको टिप्पणी रहेको छ । उनले भने “काठमाडौँ ठग्छ,पोखरा ठग्छ, बुटवल ठग्छ आफ्नै निर्वाचन क्षेत्र चितवन ठग्छ अझै नपुगेर पर्सासम्म ठग्न पुग्छ अनि किन ठगेको भन्दा प्रतिसोध साधेको हुँदैन।“