१६ माघ, काठमाडौँ । एमालेबाट निष्कासित कम्युनिस्ट नेता भीम रावलले सरकारले निरङ्कुशताको अभ्यास गर्न लागेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै रावलले “निरङ्कुशताको अभ्यास अध्यादेश तन्त्रमा अब विधेयक समितिको छलफलमा नजाने रे !” भन्दै तीव्र आक्रोश पोखेका हुन्।

सरकारले ल्याएको विधेयकबारे सम्बन्धित समितिमा छलफल नगर्ने सरकारको निर्णयमा उनको असन्तुष्टि हो। उनले लेखेका छन् ” कथित फास्ट ट्र्याक (छोटो बाटो)बाट कानुन बनाउने भन्दै संसदीय प्रणालीको उपहास गरिँदै छ। संसद्को अधिवेशन नभइरहेको बेला देश र जनताको लागि तत्काल अत्यावश्यक विषयमा मात्र अध्यादेश ल्याउने हो, मनपरी गर्न होइन।”
नेता रावल प्रतिनिधि सभामा भने छैनन् यद्यपि उनले समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गरिरहेका हुन्छन्।