समाचार

एमाले नेताले गरे सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको खुलेर प्रशंसा, भन्छन् अब अपराध गर्दा १० पटक सोच्ने बनायो 

१६ माघ, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको खुलेर समर्थन गरेका छन्। सामाजिक सञ्जाल एक्समा लामो ट्विट गर्दै सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने, अफवाह फैलाउने, हुँदै नभएका कुराहरू प्रचार गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता असामाजिक तथा अमानवीय क्रियाकलाप नियन्त्रण आवश्यक छैन र ? भन्दै प्रश्न गरेका हुन्। 

नेता रिजालले स्वतन्त्रता सङ्कुचित नहुने र आफूले लेखेका कुराको जबाफदेही आफै हुनु पर्ने बताएका छन्। “स्वतन्त्रता सङ्कुचित नहोस् तर तपाईँले सामाजिक सञ्जालमा कुनै कुरा लेख्नुहुन्छ भने त्यसलाई पुष्टि गर्ने र जिम्मेवारी लिने जिम्मा तपाईँकै हुन्छ । पुष्टि गर्न नसके जरिवाना, क्षतिपूर्ति तिर्नु विल्कुल अनिवार्य हुनुपर्छ ।” उनले लेखेका छन्। 

 “युरोप–अमेरिकामा सडक–गति उल्लङ्घन गर्दा बिहानै घरमा जरिवानाको बिल नआउँदो हो त मानिसहरू उस्तै त हुन्” भन्दै नेता रिजालले ढिलै भए पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अघि आउनु स्वागतयोग्य रहेको बताएका हुन्। 

यसबाट नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोग हुने उनको भनाइ छ। नेता रिजालले  “आज कुनै अपराध गरेमा रु. १ जरिवाना गरेर झारा टार्ने अभ्यासले अपराध नियन्त्रण हुँदैन” भन्दै  विधेयकमा प्रस्तावित दण्ड–सजायसम्बन्धी कडा प्रावधानहरूले अपराध गर्दा १० पटक सोच्ने बनाउने उनको बुझाई रहेको छ।