१६ माघ, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुलाई राम्रो मान्न नसकिने धारणा राखेका छन्। आज प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति पार्टीको राजनीतिमा आउने कुरा एमाले पार्टी भित्र छलफल समेत नभएको बताएका हुन्।
उनले भने ‘सामान्यतया: संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँ । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ सामान्य अवस्थामा मैले त्यो उचित हो भन्ने म ठान्दिन, यस विषयमा पूर्व राष्ट्रपति भण्डारी सचेत नै हुनुहुन्छ जस्तो लागेको छ।”
ज्ञवालीले पूर्व राष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेको सक्रिय राजनीतिमा देखिने सम्भावना नदेखेको समर जिकिर गरे। उनले पार्टी अध्यक्षकै इच्छा विपरीत प्रतिस्पर्धा गर्ने गरी राजनीतिमा आउन लागेको भन्ने कुरा सही नभएको दाबी गरे । आम नागरिकले पनि यस्तो कुरा नचाहेको ज्ञवालीको दाबी थियो।