१६ माघ, लुम्बिनी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको सरकार बनेको बताएका छन् । उनले राजनीतिक स्थिरतासहित विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन एमाले र नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनेको बताए ।
नेता ज्ञवालीले प्रेस चौतारी, रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बर्तमान गठबन्धन सरकार बनेपछि अस्थिरताका सदाबहार खेलाडीलाई छटपटी भएको र जनताले त्यस्ता शक्तिका कुनै पनि प्रयासलाई साथ नदिने बताए। उनले वर्तमान गठबन्धन सरकार गठन भएपछि केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताए। “यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, रोकिएका विकासका काम अघि बढेका छन्”, उनले भने, “राजस्व बढेको छ, आयात, निर्यात बढेको छ, अर्थतन्त्र चलायमान भएको छ, निजी क्षेत्रमा उत्साह र भरोसा बढेको छ ।”
नेता ज्ञवालीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयकले सबैलाई मर्यादामा राख्ने बताए । उनले यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र गलत सूचनाबाट सबैलाई जोगाउन विधेयक ल्याइएको स्पष्ट पारे । “सत्य सूचनालाई रक्षा गरिएन भने गलत सूचनाले दिग्भ्रमित पार्छ”, उनले भने, “अराजकतालाई निरूत्साहित पार्नु जरूरी छ ।”
देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको नेता ज्ञवालीको भनाइ छ । उनले राष्ट्रपति र उपराष्ट्रपति मुलुकको अभिभावक र संविधानको संरक्षक रहेको बताए । उनीहरू पूर्वराष्ट्रप्रमुख र उपप्रमुख मुलुकको अभिभावकको भूमिकाको जिम्मेवारीमा रहेको व्यक्ति पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित नभएको र एमालेले यस विषयमा कुनै छलफल खुला नगरेकोसमेत स्पष्ट पारे ।