१७ माघ, चितवन । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।
सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई पाँच हजार नगदसहित सम्मान गरेको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेको हो । उनलेसहिदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका सहिद वडा नं. २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं. २ का जीवन बुढाथोकी र वडा नं. ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।