१७ माघ, काठमाडौँ । प्रतिपक्षीमा रहेका दलहरूले सरकारले ल्याएको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारले जारी गरेको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
केही दिन अघि सरकारले सदन छलेर अध्यादेश ल्याएको थियो। भोलिदेखि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनमा अध्यादेश लगायतका विषयमा कसरी प्रस्तुत हुने भन्ने बारे रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक बसेको थियो।
विपक्षीहरूले अध्यादेशको विरोध गरिरहेका छन् । आजको बैठकले राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा पनि विपक्षी दलहरूले सदनमा सशक्त आवाज उठाउने निर्णय समेत गरेका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूको प्रतिनिधि सहभागी थिए।