राजनीति

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक स्वीकार्य हुँदैन – रास्वपा

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकले  अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै विरोध जनाएको छ। आज कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सङ्ख्यात्मक बहुमतको आडमा बल चिच्याई गरेर यस्ता विधेयक ल्याउनु लोकतन्त्रकै भद्दा मजाक भएको टिप्पणी गरेका हुन्। 

‘विधेयकका प्रावधानहरूले स्पष्ट रूपमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउने अलोकतान्त्रिक अभीष्ट प्रकट गरेका छन्,। त्यस्तै, संसदीय व्यवस्थामा सङ्ख्यात्मक बहुमतको आडमा नागरिक स्वतन्त्रता सङ्कुचित पार्ने खालका विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक हो।’ विज्ञप्तिमा भनिएको छ।  

रास्वपाले वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै  विधेयकलाई अविलम्ब फिर्ता लिई  सरोकारवालाहरूसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न समेत आग्रह गरेको छ।