१७ माघ, काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको तीन दिनमा नै ३ हजार ५ सय गैर कानुनी आप्रवासी पक्राउ परेका छन्। ट्रम्प प्रशासनले अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यु योर्क, सिकागो, वासिङ्टन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्।
अपराधीलाई जस्तै पक्राउ गर्ने डरले कैयौँ मानिसहरू काममा जान छोडेको र आफ्ना बालबालिकालाई स्कुल पठाउन बन्द गरेको बताइएको छ। ह्वाइट हाउसले भने आप्रवासीलाई पक्राउ गर्ने नीतिलाई प्राथमिकतामा राखेको बताएको छ।
बिबिसीका अनुसार अमेरिकी गृह मन्त्रालयले आइतबार १ हजार १७९ जना‚ सोमवार ९६९ जना र मङ्गलवार १ हजारभन्दा बढी पक्राउ गरेको छ।पछिल्लो ३ दिनको रिपोर्ट भने आउन बाकी रहेको छ। ह्वाइट हाउसले गिरफ्तार गर्न चाहेका व्यक्तिका बारेमा केही सूचना सार्वजनिक गरेको छ। सूचनामा सन्दिग्धका तस्बिर‚ मूल देश र अपराधको विवरण दिइएको छ। यौन अपराध, आक्रमण र लागूपदार्थ कारोबारमा जोडिएका व्यक्तिलाई बढी लक्षित गरिएको छ।
ह्वाइट हाउसले यो अभियानमा पक्राउ परेका गैर कानुनी आप्रवासी अपराधी होस् वा नहोस् उसलाई देश निकाला गरिने स्पष्ट पारेको छ। अमेरिकामा गैर कानुनी रूपमा बस्नु कसैले सामान्य ठाने पनि उनीहरू अपराधी नै भएको प्रशासनले जनाएको छ। अमेरिकी प्रशासनका अनुसार अमेरिकाको कानुन उल्लङ्घनलाई अपराधी नै मान्ने गरिन्छ। प्रशासनको यस प्रकारको नीतिका कारण गिरफ्तारीको त्रासले अमेरिकाभर हजारौँ आप्रवासी समुदाय आतङ्कित देखिएका छन्।