अन्तर्राष्ट्रिय

अमेरिकी सैन्य हेलिकप्टर र विमान दुर्घटना: “ब्ल्याक बक्स” भेटियो, ४० भन्दा बढी शव निकालियो (अपडेट)

१८ माघ, काठमाडौं । बुधवार अमेरिकामा सैन्य हेलिकप्टरसँग ठोकिएर दुर्घटना भएको अमेरिकी एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको छ। पोटोम्याक नदीमा खसेको विमानको ब्ल्याक बक्स भेटिएसँगै अब अनुसन्धानमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्। 

दुर्घटना पश्चात् नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो।

विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्। अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

मृत्यु हुने विदेशीहरूमा रुस सहित २ जना चीन र २ जना ल्याटिन अमेरिकी पनि परेको सिएनएनले जनाएको छ । सिएनएनले बताए अनुसार कम्तीमा दुई जना ल्याटिन अमेरिकी दुर्घटनामा परेका छन्। त्यस्तै चिनियाँ सरकारी सञ्चार माध्यमले विमान दुर्घटनामा दुई चिनियाँ नागरिकहरू पनि परेको बताएको छ।

कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए।