राजनीति

प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै रास्वपाको अवरोध

१८ माघ, काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अवरोध गरेको छ ।

आजको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरुसँग अनुरोध गरेको थिए । आजको बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उनले आग्रह गरेको थिए ।

“हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ । निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरु आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्”, सभामुख घिमिरेले भने ।

बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गरेको थिए । तर पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए । तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरेका छन् ।

रास्वपा सांसदहरुले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरे। त्यस्तै, नियमित बैठक र अधिवेशनको सुरुआती बैठकको फरकबारे पनि उनले ध्यानाकर्षण गराए । रास्वपा सांसदहरुको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।