बाग्मती

जनतामा गुणात्मक सेवा प्रवाह गर्न सङ्घीयता अपरिहार्य छ : प्रदेश प्रमुख देवकोटा

१८ माघ, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकमा पूर्वाधार विकासका साथै स्थानीय निकायबाट जनतामा गुणात्मक सेवा प्रवाह गर्न सङ्घीयताको संरचना अपरिहार्य रहेको बताएका छन् । बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले जनताका लागि आर्थिक समुन्नति र शैक्षिक विकासका लागि योजना र बजेटलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकार अग्रसर हुनुपर्ने उल्लेख गरे ।

प्रदेश प्रमुख देवकोटाले सङ्घीयता आवश्यक नरहेको भनी टीकाटिप्पणी भइरहेको अवस्थमा सङ्घीय सरकार र प्रदेश सरकारले इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले सङ्घीयताप्रति विकल्प नखोज्ने बताए । प्रदेश सरकारले जनताको आवश्यकता र भौगोलिक अवस्थालाई समीक्षा गरेर राष्ट्रिय गौरवको आयोजना, पूर्वाधार विकास र गुणस्तरीय स्वास्थ्योपचार सेवालाई निरन्तरता दिन सकेमात्र सङ्घीयताको लक्ष्य पूरा हुने उनको भनाइ छ ।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले प्रदेशको सबै जिल्लाका स्थानीय निकायलाई सुशासन कायम गर्नेगरी आवश्यक ऐन, कानुनको तर्जुमा गरिएको र जनतालाई सेवा प्रवाहमा गुणात्मक पक्षलाई गतिशील तुल्याई जनताको आस्था र विश्वास अभिवृद्धि गर्न जनप्रतिनिधि नै चनाखो हुनुपर्नेमा जोड दिए ।

प्रदेशमा सीमित स्रोत, साधन परिचालन गरी प्रदेशसभाका सदस्यहरूको मागअनुसार प्रदेशकोे ६६ निर्वाचन क्षेत्रमा क्रमशः राष्ट्रिय गौरवको आयोजनाका साथै कृषि उत्पादन, पशुपालन र साना घरेलु उद्योगलाई प्रोत्साहन गर्न आर्थिक प्याकेजको कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लगिएको मुख्यमन्त्री लामाले जानकारी दिए । “प्रदेशमा सुशासन ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै शैक्षिक विकासलाई गुणात्मक रूपले अगाडि बढाउन प्रदेश राजधानी हेटौँडामा विश्वविद्यालय स्थापना गरी उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ”, उनले भने ।

यस्तै, सो अवसरमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेशका विभिन्न जिल्लामा एतिहासिक सम्पदा र धरोहर रहेको उल्लेख गर्दै प्रदेश सरकारले समयानुकूल ऐन, कानुनको तर्जुमा गरी प्रदेशमा शान्ति, सुरक्षा, मानवअधिकारको संरक्षण, प्रदेश प्रहरीको पदस्थापन र विपन्न नागरिकलाई स्वास्थ्योपचारलगायत आर्यआर्जनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमतीको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसको गठनबन्धनको प्रचार गरिएको भए पनि सङ्घीय सरकार र प्रदेश सरकारले संविधानले दिएको अधिकार उपयोग गरी जनताका लागि प्रत्यक्ष योजना बजेट कार्यान्वयन गर्नेतर्फ उपेक्षा गरिएकामा चिन्ता व्यक्त गरे ।

संविधानमा सङ्घीय प्रहरी प्रदेश सरकारको मातहतमा राखिने व्यवस्था गरिएको भए पनि सङ्घीय सरकारले स्वार्थका लागि प्रदेश सरकारलाई हस्तान्तरण नगरिएकाले प्रहरीको सरुवा, बढुवा र पदस्थापन गर्ने कार्यमा अवरोध पुग्दै आएकाले अब प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर सङ्घीय सरकारबाट उक्त अधिकार हासिल गर्नुपर्नेमा नेता जम्मकट्टेले आग्रह गरे ।

सो अवसरमा बागमती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठले संविधानले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेशसभा गठन भएको उल्लेख गर्दै जनप्रतिनिधिले इमान्दारीपूर्वक प्रदेशसभामा विधेयक आउँदा ध्यानपूर्वक अध्ययन र अनुसन्धान गरी ऐन कानुन, तर्जुमा गरिएमा सङ्घीयताको मर्म र भूमिका जनताले अझ बढी विश्वास गर्ने बताए ।

उक्त समारोहमा प्रदेशसभाका उपसभामुख अप्परा चापागाईँ, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले प्रदेशसभाले समयानुकूल ऐन, कानुनको तर्जुमा गरी प्रदेशका ६६ निर्वाचन क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना, पूर्वाधार विकास र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजना बजेटलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउनेतर्फ प्रदेश सरकारको भूमिका सशक्त हु्नुपर्ने र प्रदेशमा सुशासन ल्याउने कार्यक्रमलाई जनताको घरदैलोमा पु¥याउन सरकारले दीर्घकालीन कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने प्रदेशसभाका पाँच जना सदस्यलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा क्रमशः उद्धव थापा राप्रपा संसदीय दलका नेता, गोविन्दप्रसाद लम्साल कांग्रेस बागमतीका सचेतक, बालकुमारी विश्वकर्मा, मायाकुमारी कार्की र रामप्रसाद ढुङ्गाना छन् ।

यसैगरी, प्रदेश प्रमुख देवकोटाले प्रदेशसभा सचिवालय कार्यालयमा कार्यरत सूचना अधिकारी हिमा न्यौपाने, सहायक कर्मचारी धिरज ढकाललगायत १० जनालाई नगदसहित पुरस्कार प्रदान गरे । उनले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित दर्पण स्मारिकको विमोचन गरे । यसअघि प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको निर्माणाधीन भवनको विभिन्न कक्षको आज निरीक्षण गरेका थिए ।