उर्जा

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर

१८ माघ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको उपस्थितिमा ‘ऊर्जा दक्षता परियोजना’सम्बन्धी संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ ।

आज ललितपुरमा आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था जिआइजेड को नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमबीच नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तिकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा ऊर्जा मन्त्रालयका सहसचिव जीवच्छ मण्डल, जिआइजेडका नेपाल देशीय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस र कार्यक्रम व्यवस्थापक डा फ्र्याङक फेचरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि जोसे लुइस विनुएसा–सान्तामारिया, जर्मन दूतावासका उपप्रमुख बेन्जामिन साइडललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियोे ।

जर्मन सरकारको छ मिलियन सहयोगमा सञ्चालन हुने उक्त परियोजनाले नेपालको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा सङ्घीय, प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि एवं प्राविधिक सम्भाव्यता अध्ययनमा सहयोग गर्ने सम्झौता भएको मन्त्रालयका सचिव आचार्यले जानकारी दिए ।

परियोजनामार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा निजी क्षेत्रलाई सक्षम बनाउन वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै बुटवल, पोखरा, भैरहवा क्षेत्रमा जलवायुमैत्री प्रविधिको प्रयोग गरी विद्युत् खपत बढाउन आवश्यक नीतिगत एवं प्रविधिको प्रवर्द्धनमा सहयोग गर्ने उनले बताए । उनका अनुसार परियोजनाको अवधि तीन वर्ष रहने छ ।