राजनीति

काँग्रेसको १५औँ महाधिवेशन सार्ने चलखेल भइरहेको छ : महामन्त्री थापा

१९ माघ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसको १५औँ महाधिवेशन २०८४ को चुनाव अगाडी नै हुने बताएका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै थापाले संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने बताएका हुन्। 

साना केही दलहरूसँग पार्टी एकता गरेर अधिवेशन पछि सार्ने चलखेल भइरहेको भन्दै महामन्त्री थापाले पार्टी एकता गरेता पनि पार्टीको अधिवेशन सार्न नमिल्ने बताए। काँग्रेसलाई विगठन गरेर दुई पार्टीको एकता गरे मात्रै अधिवेशन पछि सार्न सम्भव हुने तर त्यस्तो कुरा सम्भव नभएको उनको दाबी छ।

उनले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने बताए । ‘२०८४ को स्थानीय चुनाव,आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदै पाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नै पर्छ,’ उनले भने, ‘अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’ महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको उनको भनाइ छ ।

काँग्रेसले १४ औँ महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८३ भित्र १५ औँ महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । थापाले केही नेताहरूले अधिवेशन पछि जान्छ कि भन्ने बताइरहेको भए पनि त्यसमा कुनै कन्फ्युज नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। 

साना दलसँग एकता गरेर अधिवेशन लम्ब्याउन सक्ने भन्दै काँग्रेस नेताहरू सशङ्कित  बनेका छन्। नेता डा.शेखर कोइरालाले पनि १५ औँ महाधिवेशन २०८२ मै गर्नुपर्ने बताउँदै आएका छन् ।