राजनीति

काँग्रेस नगर सभापति मृत्यु प्रकरण: गृहमन्त्री लेखक आफैँ घटनास्थल जाँदै, फरेन्सिक विज्ञ मगाइयो 

१९ माघ, काठमाडौँ । नेपाली काँग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनीको शव फरेन्सिक विज्ञ टोली आएपछि मात्रै पोस्टमार्टम हुने भएको छ। भेरी अस्पतालबाट फरेन्सिक विज्ञ टोली नपुग्दासम्म कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनास्थलको सबै काम सकेर कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। फरेन्सिक टोली पुगेपछि पोस्टमार्टम सुरु हुनेछ। 

घटनाको स्थलगत निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक आफैँ घटनास्थल जाँदै छन्। 

आज बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोक नजिकै उनी मृत भेटिएका थिए। सडकको पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको थियो। उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट भने छैन।

शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ भने परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीले दुई मोबाइल बोक्ने गरेको र तीमध्ये ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टम भएको मोबाइल फेला परे पनि अर्को सानो मोबाइल भने फेला परेको छैन। 

प्रहरीका अनुसार कलौनी शुक्रवार राति ९ः३२ मा घटनास्थल नजिकैको सिसिटिभी फुटेजमा एक्लै हिँडिरहेका देखिएका छन्। प्रहरीले बिहान घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो।