अपराध

नगर सभापति कलौनीको शङ्कास्पद मृत्युबारे निष्पक्ष छानबिन गर्न कञ्चनपुर काँग्रेसको माग(विज्ञप्ति सहित)

२० माघ, काठमाडौँ । नेपाली काँग्रेस कञ्चनपुरले भीमदत्त नगर कार्यसमितिका सभापति अच्युतराज कलौनीको शङ्कास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै पार्टीले एक होनहार र प्रतिभावान् नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।

कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राख्ने तयारी काँग्रेसले गरेको छ।

कलौनीलाई हत्या गरेर फालेको हुनसक्ने आशङ्का पीडित परिवारले गरेको छ। गृहमन्त्री रमेश लेखकसँगको भेटमा मृतक कलौनीका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशङ्का व्यक्त गरेका हुन्। 

घटनाप्रति गम्भीर आशङ्का भएको भन्दै कलौनीका बुवाले भने,’अन्तै  कतै मारेर यता ल्याएर फालेको हो कि भन्ने शङ्का छ। नाम तोक्ने कसको तोक्ने? राती ३ बजे हिँडेर आएको हरेछ, कसैले बोलाएको हो कि?’ गृहमन्त्री लेखक घटना घटेकै दिन हिजो शनिवार कञ्चनपुर पुगेका थिए। 

कलाैनीकाे शव फेला परेको स्थानमा रहेका घरमा मान्छे बस्ने गरेका छैनन्। यी सबै विषयमा जानकार हुनेले नै हत्या गरेर फालेको हुन सक्ने पनि  आशङ्का परिवारको छ।  शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव परीक्षणको लागि भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली ल्याइएको छ। 

मृतक कलौनीले प्रयोग गर्ने एउटा मोबाइल अझै फेला नपरेको र प्रहरीले उक्त मोबाइलको खोजी थालेको बताइएको छ।उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन। शव नजिकै उनको खाली ‘वालेट’ भने फेला परेको छ। कलौनी शनिवार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।