खेलकुद

२४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा, विजेतालाई १२ लाख पुरस्कार

२० माघ, काठमाडौं । २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक सहारा क्लबले आज आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। 

आगामी मङ्गलवारदेखि पोखरामा रङ्गशालामा सुरु हुन लागेको प्रतियोगिताको ट्रफी र जर्सी पनि सार्वजनिक गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्बेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाइज, सङ्कटा क्लब, र नेपाल पुलिस क्लब छन्।

साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि सहभागी छन्। 

प्रतियोगिताको यो संस्करणमा ७ पटकको उपाधि विजेता टोली मनाङ मर्स्याङदी क्लब भने सहभागी हुने छैन।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिता माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ।