२० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा स्थानीय जनता माथि ज्यादती भएको बताएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन उनले अहिले पाथीभरामा केबलकार बनाउन जरुरत नभएको बताएका हुन्।
केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न लिङ्देनले सरकारसँग आग्रह गरेका छन्। ‘केबलकार स्थापना गर्ने नाममा जुन प्रकारको ज्यादती सरकारबाट भइरहेको छ, म त्यसको निन्दा गर्न चाहन्छु,’ उनले भने, ‘म सरकारसँग आग्रह गर्न चाहन्छु–कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ चलाइनकन, जनतामाथि निर्मम दमन गरीकन त्यो केबलकार अहिले बनाउन जरुरत छैन तत्काल रोक्नु पर्छ।’
केबलकार निर्माणले स्थानीय जनतालाई कति फाइदा गर्छ? त्यसले त्यहाँको मौलिकताको सुरक्षा गर्छ कि गर्दैन?त्यहाँको सनातन परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन? सनातन परम्पराको सुरक्षा हुन्छ कि हुँदैन?त्यसको विश्लेषण गरेर मात्रै यस्ता विषयहरू अगाडि बढाउनुपर्छ भन्दै सरकारमाथि प्रश्न गरेका हुन्।