२० माघ, तेहरा । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।
फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।
इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।
यो नयाँ स्वरूपको क्षेप्यास्त्रसहित इरानका क्षेप्यास्त्रहरू आफ्नो कट्टर शत्रु इजरायलसम्म पुग्न सक्षम छन् । इरानले यि क्षेप्यास्त्रलाई गत वर्ष गाजा युद्ध सुरूभएपछि दुई पटक प्रयोगमा ल्याएको छ ।
“रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,” पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भने । सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्रको स्थापनाको ४६ औं वर्षगाँठको केही दिन अघि र इरानको राष्ट्रिय अन्तरिक्ष दिवस को अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।
आफ्नो पहिलो कार्यकालमा इरानमाथि ’अधिकतम दबाब’ को नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि तेहरानले ठूलो सैन्य अभ्यास र भूमिगत सैन्य अखडाको प्रस्तुतिसहित थुप्रै शक्ति प्रदर्शन गरेको छ ।