२४ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको मुख्यमन्त्री आफूलाई दिए मात्रै अध्यादेशलाई समर्थन गर्ने शर्त राखेका छन्। उनले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेटे पछि आफ्नो शर्त अघि सारेका हुन्।
उपेन्द्र नेतृत्वको जसपा नेपाललाई मधेसको मुख्यमन्त्री दिने गरी करिब सहमति भैसकेको बताइएको छ। यदि सहमति भएको खण्डमा उपेन्द्रका सांसदले अध्यादेशमा मत दिने छन् र अध्यादेश पारित हुनेछ।
काँग्रेसका एक शीर्ष नेताका अनुसार मधेसको मुख्यमन्त्रीमा जसपा नेपालको चासो देखिएकाले त्यही पद मिलाउने भनेर सकारात्मक छलफल भएको छ। आज बिहान मात्रै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरूको दौडधुप देखिन्छ।
आज बस्ने भनिएको सङ्घीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट बहुमतले पारित हुने देखिएको अध्यादेश राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपालले मत दिएमा पारित हुने छ। उनको दल राष्ट्रिय सभामा निर्णायक भूमिकामा देखिएको छ।