२४ माघ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो सरकार बने देखि अर्थतन्त्र निरन्तर कमजोर भएको बताएका छन् । बिहीबार संसद् बैठकमा बोल्दै दाहालले राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा सरकार अग्रसर रहेको आरोप लगाएका हुन् ।
दाहालले सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पूरा गर्न नसकेको बताउँदै भने’, यो विपक्षले लगाएको आरोप होइन, तपाईँकै अर्थ मन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो’,। ६ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको ६ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब पुगेको उनको भनाइ थियो।
गत वर्षको ६ महिनामा २२.२ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स यस वर्षको सोही अवधिमा ४.१ प्रतिशत मात्र भएको दाहालले बताए। उनले भने,’ अहिले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ ।’
आफूले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको, खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको बताउँदै उनले भने’, जबकि सरकार छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो । श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झन्डै ३० प्रतिशत पुगेको छ।