राजनीति

अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : सांसद पुन

२४ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको विशेष समयमा उनले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाए ।

सांसद पुनले संसद्को अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताए ।

प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उनले आपत्ति जनाए । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।

सर्लाहीको बरहथवामा प्रेम विवाह गरेका जोडी सत्येन्द्र र नेहाको घटनाका बारेमा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरे । डढेल्धुराको रङ्गुन नदीमा समयमै पुल निर्माण गर्न तथा रोल्पालगायतका जिल्लामा पुराना आयोजना समयमै निर्माण सम्पन्न गर्न सांसद पुनले सरकारको ध्यानाकर्षण गराए ।