अन्तर्राष्ट्रिय

दिल्ली चुनावमा हार स्वीकार गर्दै केजरीवालले दिए भाजपालाई बधाई 

२६ माघ, काठमाडौं । चुनावमा पराजय स्वीकार गर्दै अरविन्द केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिएका छन्। उनले नयाँ दिल्ली निर्वाचन क्षेत्रबाट चुनावमा पराजय भएसँगै भिडिओ सन्देश मार्फत बधाई दिएका हुन्। 

नयाँ दिल्ली निर्वाचन क्षेत्रबाट केजरीवाललाई बीजेपीका परवेश वर्माले ४ हजार ८९ मतले पराजित गरेका हुन्। वर्माले ३००८८ मत पाए भने दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले २५९९९ मत पाए। 

आम आदमी पार्टी (आप) का प्रमुख रहेका केजरीवालले अब आफ्नो पार्टी प्रतिपक्षी भूमिकामा सशक्त रूपमा रहने बताए। उनले विधानसभा चुनावमा पराजय स्विकार्दै जनताको जनादेशलाई स्वीकार गर्ने भन्दै भने,’ यो जितको लागि म बीजेपीलाई बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले जनतासँग गरेका सबै बाचा पूरा गर्नेछन्।’ 

दिल्लीमा बीजेपीले १२ सिट जितेको छ र ३८ सिटमा अगाडि छ। आम आदमी पार्टीले १० सिट जितेको छ भने अर्को १० सिटमा अगाडि छ।