राजनीति

काँग्रेसलाई ८४ को निर्वाचनमा जनतामाझ जान सक्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ: महामन्त्री थापा

२६ माघ, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई तीन वर्षसम्म निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। आज काठमाडौँमा अर्घाखाँची-काठमाडौँ सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै उनले तीन वर्षसम्म ओली नेतृत्वको  सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी काँग्रेस र एमालेले लिनुपर्ने बताएका हुन्।

 यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौलता देखिएको उनको भनाइ छ । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा थापाको जोड थियो। 

महामन्त्री थापाले अबको तीन वर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने बताए। सङ्घीयताका विषयमा बेठिक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई सङ्घमा देखिएको र  तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने उनको धारणा थियो।