राजनीति

अध्यादेश कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउँछौ : अध्यक्ष यादव 

२७ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारमा जाने अवस्थामा नरहेको बताएका छन्। आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले सत्ताको लागि कुनै बार्गेनिङ नगरेको ठोकुवा गरेका हुन्। 

अध्यादेशलाई देखाएर तपाईँहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? भन्दै अहिले सरकारमा जाने अवस्थामा नरहेको र मन्त्रालय नचाहिएको प्रतिक्रिया दिएका हुन्। उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने पनि बताए ।

सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । यसअघि अध्यादेश पारित गर्ने गरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो । 

प्रतिनिधिसभामा एमाले काँग्रेसको स्पष्ट बहुमत भए पनि यादवको पार्टी राष्ट्रियसभामा निर्णायक देखिएको छ।