राजनीति

काँग्रेस महामन्त्री शर्मा भन्छन् : काँग्रेस-एमालेको गठबन्धन सरकार प्राकृतिक नभएपनि समयको बाध्यता हो

२७ माघ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले काँग्रेस-एमालेबीचको गठबन्धनको सरकार प्राकृतिक नभएको आफूहरूले स्वीकार गरेको बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले  यो गठबन्धन सरकार बन्नु समयको बाध्यता भएको बताएका हुन्।

संसद् बैठकमा बोल्दै महामन्त्री शर्माले भने ‘दुईवटा फरक दर्शनकाबिचमा गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो, गणितीय बाध्यता हो, परिस्थितिको आवश्यकता हो। प्रष्ट रूपमा भन्दा यो एकदमै प्राकृतिक रूपमा बनेको छ भन्ने दाबी गर्दैनौँ। तर, के यो संवैधानिक पनि छैन त ? त्यसो होइन,’ उनले भने।

गत माघ २४ गते प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्ने क्रममा सरकार प्राकृतिक र संवैधानिक पनि नभएको बताएको भन्दै शर्माले , ‘काँग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकार संवैधानिक हुने र काँग्रेस र एमाले मिलेर बनेको सरकारचाहिँ कसरी असंवैधानिक भयो?’  भन्दै प्रश्न गरेका थिए। दाहालको उक्त अभिव्यक्त आवेगात्मक भएको शर्माको टिप्पणी थियो। 

 भ्रष्टाचार निवारण, निजामती कर्मचारी, शिक्षा र अख्तियारलगायतका विधेयक यो अधिवेशनबाट टुङ्गोमा पुर्‍याउनुपर्ने  बताउदै शर्माले अनि मात्रै जनतामा आस्था, आशा र भरोसा बढाउन सकिने जिकिर गरे।