राजनीति

कानुन नबनिरहेको बेला अधिकारको अपवादका रुपमा अध्यादेश ल्याइएको हो : कांग्रेस नेता डा महत

२७ माघ, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसद्मा विधेयक प्रवेश भएपछि कति समयभित्र पारित गरिसक्ने भनी समयसीमा नतोकिएसम्म कानुन निर्माणले गति हासिल गर्ने सम्भावना कम रहेको बताएका छन् ।

संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)’ द्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक संवाद कार्यक्रममा डा महतले यस्तो बताएका हुन् ।

उनले भने, “संविधान संशोधन गरिँदा आफूहरु समानुपातिक र समावेशी प्रणालीबाट फिर्ता हुन चाहेको होइन, त्यसमा कहीँ सम्झौता हुन सक्दैन, कानुन नबनिरहेको अवस्थामा अधिकार र आवश्यकतामा अपवादका रुपमा अध्यादेश ल्याइएको हो ।”

जुन देशमा विकास र समृद्धिका हिसाबले धेरै गर्न बाँकी छ त्यहाँ नै ठूलो सम्भावना हुन्छ भन्ने सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको नेता डा महतको भनाइ थियो । आर्थिक क्षेत्रको मुख्य इन्जिनका रुपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन दिँदै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।