राजनीति

माओवादी केन्द्रले फेरी ब्युँतायो जातीय मोर्चा, जिल्ला र पालिकासम्मै विस्तार गर्ने तयारी 

२८ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले फेरी जातीय मोर्चालाई सक्रिय बनाउने भएको छ। गत पुस २१–२३ मा काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले जातीय मोर्चालाई फेरि सक्रिय बनाउने निर्णय लिएको थियो। 

केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गर्दै जातीय मोर्चालाई सशक्त र क्रियाशील बनाउन भन्दै इन्चार्जहरू तोकिएका छन्।आइतबार मात्रै पार्टीको तल्लो तहमा पठाइएको परिपत्र अनुसार पार्टी महासचिव देव गुरुङलाई पहिचानसँग सम्बन्धित सङ्गठन समन्वय संयोजक बनाएको छ। उपमहासचिव मातृकाप्रसाद यादवलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज तोकेको छ।

त्यसै गरी पूर्व सभामुख ओनसरी घर्तीलाई जनजाति महासङ्घ इन्चार्ज बनाएको छ। यस्तै, हकिकुल्लाहा खाँ मुसलमानलाई मुस्लिम मुक्ति मोर्चा नेपालको इन्चार्ज ,परशुराम रम्तेललाई दलित राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज बनाएको परिपत्रमा उल्लेख गरिएको छ। अब यसलाई जिल्ला र पालिकासम्मै विस्तार गर्ने तयारी छ। 

त्यस्तै नरेश भण्डारीलाई कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इन्चार्ज बनाएको छ भने त्रिलोचन भट्टलाई सेती महाकाली मुक्ति मोर्चा इन्चार्ज बनाएको छ। संविधान जारी भएयता माओवादीका जातीय मोर्चा निष्क्रियजस्तै थिए तर सरकारबाट बाहिरीपछि आफ्नै वर्ग समुदायमा फर्किने भन्दै जातीय मोर्चा ब्युँताएको हो।  

माओवादीले भन्दै आएको जनयुद्धका क्रममा भौगोलिक र जातीय मोर्चालाई सक्रिय बनाउँदै आएको थियो तर, २०७२मा संविधान जारी भए पश्चात् मोर्चा क्रमशः निष्क्रिय हुँदै गएका थिए। 

संविधान जारी भएपछि माओवादी पटक पटक सरकारमा सहभागी भइरहेको थियो। यस पटक काँग्रेस र एमाले गठबन्धन गरेर झन्डै दुई तिहाइको सरकार बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो। सरकारमा रहँदा धरातल बिर्सने र सरकार बाहिर आएपछि कार्यकर्ता र जनता सम्झिने माओवादी प्रवृत्तिको रूपमा देखा परेको आलोचकहरू बताउँछन्।