२८ माघ, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने ठोकुवा गरेका छन् । आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री ओली रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति नै नरहेको बताएका हुन्।
दाहालले तत्काल सरकार बनाउनेतर्फ आफ्नो ध्यान नभएको भन्दै तत्काल काँग्रेससँग पनि सहकार्य नहुने र आफूहरू अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै जाने बताए।
अध्यक्ष दाहालले भने ,’अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौँ । यो अभियान हाम्रो लागि जरुरी भएको छ देशको लागि जरुरी भएको छ ।’
उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेसी जनताका निम्ति अझ बढी आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ।