२८ माघ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताएका छन्। आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको टिप्पणी गरेका हुन्।
नेता डा. कोइरालाले लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिँदै भने,‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुनतः नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो’,उनले अघि भने ,’ओलीजीसँग दुई चार राउन्ड कुरा गरिसकेको थिएँ, त्यसपछि मात्रै भनेको हो।’
उनले डेमोक्रेसीमा भरसक संसदबाटै नियम, कानुन, ऐनहरू बनाएर जानु पर्ने बताए। संसद्लाई छलेर जान नहुने भन्दै डा.कोइरालाले भने,’दुई तिहाइ बहुमत छ, संसद् छल्नुपर्ने जरुरत नै छैन।’
दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले गलतलाई गलत भन्न नसक्ने हो भने काँग्रेसको औचित्य सकिने डा. कोइरालाको भनाइ छ।