२८ माघ, महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताएका छन् ।
महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताए ।
“भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गरेका छौँ, अब हामी समुदाय आधारित काममा केन्द्रित हुनेछौँ”, अध्यक्ष दाहालले भने, “यसका लागि आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्दैछौँ ।” उनले यस अभियानले यसअघि समुदायसँग अलगथलग बनेको सम्बन्धलाई सुधार्दै आगामी निर्वाचनमा आफ्नै बलबुतामा अगाडि बढ्ने गरी सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे ।

समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राखे । उँनले ‘आधारशीला’ कम्युनको अवधारणालाई व्यवहारिक रूप दिन थालिएको एक प्रयत्न भएको बताउँदै अब देशभरिमै यस्ता प्रयत्न अघि बढाइने बताए । “यो काम हाम्रा साथीले नेतृत्व गर्नुभएका मुलुकका १२३ स्थानीय तहबाट सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाउने छौँ । अब हाम्रो दलले सामूहिक जीवनको अभ्यास सिकाउने ‘आधारशीला’ जस्ता कम्युन मुलुकभरि नै अभियानका रूपमा अगाडि बढाइने छन् । समाजवादको आधारशीला बनाउन हाम्रा काम उदाहरणीय बन्नेछन्”, अध्यक्ष दाहालको भनाइ थियो ।