राजनीति

सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न पाउँदैन : प्रमुख सचेतक शाही

२८ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने भन्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट फिर्ता हुनुपर्ने बताएका छन् ।आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका हुन्। 

शाहीले आक्रोशित हुँदै भने ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने बित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोरखापत्रको स्थापना त राणा कालमा भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । जनताको बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ?,’ भन्दै प्रश्न गरेका थिए। 

सरकारको जयजयकार गर्नको लागि गतिलो काम गरेको हुनु पर्ने भन्दै सांसद शाहीले सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिए।