२९ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहाइ नगरे युद्धविराम अन्त्य गरेर निमिट्यान्न पार्ने चेतावनी दिएका छन्। ट्रम्पले बन्धक बनाइएकालाई रिहा नगरे युद्धविराम अन्त्य भएको घोषणासँगै हमासको अन्त्य गर्ने प्रस्ताव राख्न बाध्य हुने बताएका हुन्।
इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको थियो। हमासले बन्धक रिहाइ रोक्ने घोषणा बारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम भएको थियो भने लगत्तै दुवै पक्षबाट बन्धक बनाइएकाहरूलाई रिहा गर्ने क्रम चलिरहेको थियो ।पूर्व सम्झौता अनुसार बन्धकहरूको रिहाइ आगामी शनिवार हुनेवाला थियो । शनिवार सयौँ प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।
हमासले मुक्त गर्ने व्यक्तिहरूको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बिबिसीले जनाएको छ ।
हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरूमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पुर्याइरहेको आरोप लगाएको छ ।