राजनीति

सांसद खतिवडाको त्यो २ मिनेट जसले संसद् बैठक नै अवरोध गरायो 

२९ माघ, काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएपछि अझै बस्न सकेको छैन। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा शून्य समयमा नबोलेर आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै उपसभामुख इन्दिरा रानासँग समय मागेर बोल्न सुरु गरेपछि बैठकको माहौल बिग्रिएको थियो। 

प्रतिनिधिसभामा विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे। त्यसपछि उपसभामुख रानाले दुई मिनेट समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिन थाले। उनले नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको बताउँदै भने हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोसन गरेको हामीले हिजो देख्यौँ । आइजिलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौँ । कल्ले सदुपयोग गर्‍यो, कल्ले दुरुपयोग गर्‍यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’

खतिवडा यतिमै रोकिएनन्, उनले अघि भने ‘विगतका गृहमन्त्रीले प्रहरीमा हाइजम्प, लङजम्प लागु गरियो । दुई ब्याच पछाडिकोलाई प्रमोसन गरियो । सांसद खतिवडा यतिमै रोकिएनन् र भने ’यति मात्रै नभएर प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्ना मान्छे लाने काम भएको भनेर उनले यसको पनि जवाफ खोजिनुपर्ने बताए । 

अदालतमा मुद्दा चलिरहँदा बाहिर जिन्दाबाद र मुर्दावाद भन्ने प्रचलन सुरु भएको उल्लेख गर्दै उनले यो कसले गरेको हो भनेर जवाफ खोजिनुपर्ने बताए । बहस गर्न गएका वकिललाई झ्यामझ्याम् गालामा हानेर सडकमा ल्याउने काम गरियो ।लछारपछार पार्ने काम कसले गरेको यो पनि हेर्नु पर्ने बताएपछि माहौल गरमागरम बनेको थियो।  

यतिकैमा सांसद खतिवडा बोलिरहँदा रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति गर्दै बिचैमा उठेर खतिवडालाई कुन समयमा बोल्न दिइएको भनेर उपसभामुखलाई सोधे । उपसभामुख रानाले आकस्मिक समयमा बोल्न दिन नाम छुटेकाले पछि समय दिइएको बताए । तर, यो विधि अनुसार नभएको भनेर रास्वपाका सांसदहरू उठे । त्यसपछि रास्वपालाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले साथ दिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले खतिवडालाई कुन नियमावली अनुसार बोल्न दिइयो भनेर सोधे । यसको जवाफ नआए आफूहरूले नमान्ने बताए ।

उपसभामुख रानाले संसद् सचिवालयलाई अध्ययन गर्न आदेश गरिन् । तर, विपक्षी दलहरूले मानेनन् । लिस्ट लामो भएकाले झुक्किएर नाम छुटेकाले खतिवडालाई बोल्न दिइएको र नियतवश नगरिएको प्रष्टीकरण दिइन् । फेरि पनि विपक्षी दलहरूले मानेनन् ।

खासमा शून्य र विशेष समयको बिचमा खतिवडाले तत्कालीन गृहमन्त्री रवि लामिछानेको आलोचनामा आफ्ना शब्द खर्चिएका थिए । उनले वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरको बचाउ गर्दै गृहमन्त्री हुँदा रविले मनलाग्दी र मनपरी गरेको आरोप लगाएका थिए ।

त्यसपछि ड्यासमा सभामुख देवराज घिमिरे आए । घिमिरेले खतिवडालाई बोल्न दिइएकोबारे अध्ययन गर्न आदेश दिइएकाले संसद् बैठक अगाडि लैजान आग्रह गरे ।  तर, विपक्षी दलहरूले बोल्न समय मागे । त्यसपछि सभामुख घिमिरे पनि झोक्किए, ‘यहाँहरूलाई समय दिँदा प्रश्न उठ्छ कि उठ्दैन ? यहाँहरूले ख्याल गर्नुस् ।’ भन्दै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिदिए । 

दुई घण्टा बितिसक्दा पनि १५ मिनेटको लागि स्थगित गरिएको संसद् बैठक अझै सुरु हुन सकेको छैन।