राजनीति

सरकारले संसद्मा ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : उपमहासचिव शर्मा  

२९ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन। 

सांसद शर्माले मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन भन्दै आज अध्यादेशको अवस्था त्यस्तै भएको बताएका हुन। उनले , ‘मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्? एजेन्डामा छलफल गर्न किन पछि परिरहेको छ?’ भन्दै प्रश्न गरेका थिए। 

शर्माले सरकारमा भएकाहरूले संसद्‌लाई पूर्वाग्रहपूर्ण बहसको थलो बनाउन नहुने धारणा पनि राखे। 

‘आग्रह-पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनुहुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छ? चासो जनतालाई यो छ,’ उनले भने, ‘ जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने? यो बहस किन हुँदैन?’

भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्नु पर्ने सांसद शर्माको माग थियो।