राजनीति

प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुमाथि गलत प्रचारबाजी भयो,घोर भर्त्सना गर्छौ : अनेरास्ववियु

३० माघ, काठमाडौँ । ठमेलमा ड्युटीमा रहेका प्रहरी कुटिएको घटनामा सङ्गठनलाई  बदनाम गरिएको भन्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आपत्ति जनाएको छ। अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्तिमा निकालेर घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्ने बताएका हुन्। 

 विज्ञप्तिमा घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा सङ्गठन स्पष्ट रहेको उल्लेख छ। घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्ने विज्ञप्ति मार्फत चेतावनी दिएको हो। 

 सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा मार्फत आग्रह गरिएको छ।

 प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी सङ्गठनमा आबद्ध छन् ।

प्रहरीका अनुसार उनीहरूले माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए ।