३० माघ, काठमाडौँ । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोराबुहारी सहित ६ जना पक्राउ परेका छन्। । आफ्नै बाबुको हत्या गर्न छोराबुहारीले मान्छे खटाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा छोराबुहारी सूर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रीमती २६ वर्षीया मालती तामाङ रहेका छन्। त्यस्तै सूर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेका छन् ।
सूर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप छ । छोराबुहारीकै योजना र निर्देशनअनुसार बाँकी चार जनाले धनराजको हत्या गरेको प्रहरीले जनाएको छ।
करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएको खुलेको छ । हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबिच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका व्यक्ति हुन् । २८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।