३० माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।आज नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले निष्पक्ष र छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्ने भन्दै भने,‘तपाईँहरूले सरकारी कर्मचारीका रूपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईँहरूलाई छ’, उनले अघि भने, ‘सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईँहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।’
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समयमा सेवा दिने कुरामा चुक्न नहुनेमा जोड दिए । अहिले भएको भन्दा अझ परिष्कृत सेवा दिनुपर्ने भन्दै उनले कर्मचारीहरूलाई कुनै पनि सङ्गठनको मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु नहुने बताए।
कर्मचारीबाट सेवा पाएको मान्छेले खुसी भएर निजामती सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनेर धन्यवाद दिने खालको सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको आग्रह थियो।