राजनीति

सञ्चारमन्त्री गुरूङको चेतावनी: तीन दिनभन्दा बढी फाइल टेबलमा नराख्नू !

३० माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन्।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उनको भनाइ छ ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उनले सम्बन्धीत निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे ।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिए । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भने । उनले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताए ।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था पिएसबी लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभइ सरकारकै मुख्य समस्या रहेको उल्लेख गरे । “एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ”, उनले भने, “खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । अनि मात्रै विकास हुन्छ ।”