राजनीति

प्रवक्ता डा. महतको दाबी : काँग्रेसका सबै भ्रातृ सङ्गठनहरूको अधिवेशन चैतमा हुन्छ, पार्टीले म्याद थप्दैन 

१ फागुन, काठमाडौँ । लामो समयसम्म नभइरहेको नेपाली काँग्रेसको भ्रातृ सङ्गठनहरूको अधिवेशन चैतमा हुने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र भ्रातृ सङ्गठनहरूबिचको छलफलपछि काँग्रेसले यस्तो निर्णय गरेको हो ।

बैठक पछि प्रतिक्रिया दिँदै प्रवक्ता डा. प्रकाश शरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका हुन। उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरूसँग अधिवेशन तयारीका बारेमा छलफल भएको र तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले केके सहयोग गर्नु पर्ने हो त्यस बारेमा पनि सुझाव लिएको बताएका हुन्। 

भातृ सङ्गठनहरूको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरूलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरिसको बताउँदै प्रवक्ता महतले भने, ‘त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्न सक्छ भन्ने बारेमा उहाँहरूसँग छलफल केन्द्रित भयो ।’ 

प्रवक्ता महतले छलफलमा सहभागी केहीले अधिवेशन चैतमा चुनौती भएको बताएको बताए पनि  धेरैले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। 

 उनका अनुसार नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको पनि जानकारी दिएका हुन्।