अपराध

कुटपिटबाट सुधार केन्द्रमा एक जनाको हत्या, ७ जना पक्राउ 

२ फागुन, काठमाडौँ ।  बाराको पुनर्स्थापना केन्द्रमा कुटपिटबाट हुँदा एक जनाको ज्यान गएको छ। कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा राती कुटपिट हुँदा धीरेन्द्र भनिने प्रदीप प्रसाद मण्डलको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार सुधार केन्द्रमा १५ दिनअघि भर्ना भएका कलैया उपमहानगरपालिका–९ का मण्डलको निधन भएको हो । सुधार केन्द्रमा रहेका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि गए राति २ बजे कुटपिट भएको प्रहरीको भनाइ छ । मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो तर  चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेका थिए।

उक्त घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् ।

 प्रहरीले घटनाको अनुसन्धान थालेको बताएको छ।  प्रहरीका अनुसार अहिले पीडित पक्षबाट जाहेरी दिने काम भइरहेको छ ।

 मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।